Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्नुपर्छ : महामन्त्री थापा

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खल्तीबाट नेता छान्ने समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताएका छन् ।

कटारीमा उदयपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणाली वर्तमान नेपालको आवश्यकता भएको बताए। अहिले समानुपातिक निर्वाचन प्रणालीको विरोध भइरहेको भन्दै महामन्त्री थापाले समावेशी नेपालका लागि मिश्रित निर्वाचन प्रणालीको विकल्प नभएको बताए ।

महामन्त्री थापाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको, तर नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने चलन नचाहिएको बताए।

महामन्त्री थापाले भने,‘हामीले समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पना गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो । तर यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन ।’

महामन्त्री थापाले अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्ने बताए ।

महामन्त्री थापाले भने,‘अहिले संसद्मा एउटा ऐन छलफलमा छ । ०४६ सालपछि पदमा बसेको, जो–जो हो, जसले अकुत सम्पत्ति कुम्ल्याएर बसेको छ, त्यस्तो व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छ भनेर मैले आफैँ एउटा शक्तिशाली आयोग गठन गर्न प्रस्ताव लगेको छु।’

जनता भ्रष्टाचार र कुशासनबाट दिक्क बनेको भन्दै उनले ०४६ सालपछि अहिलेसम्म पदमा बसेर अनियमितता गर्नेहरूको सम्पत्ति छानविन गर्नुपर्ने बताए ।

उनले कृषिप्रधान मुलुक नेपालको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न नसक्ने अवस्थामा रहेको भन्दै देशमा ठूलो संख्यामा रोजगारीको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077