Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • मोबाइल तस्करीमा जवानविरुद्ध मुद्दा, तत्कालिन डिआइजीलाई ‘क्लिनचिट’

    मोबाइल तस्करीमा जवानविरुद्ध मुद्दा, तत्कालिन डिआइजीलाई ‘क्लिनचिट’

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 3.6K
    SHARES

    काठमाडौं । मोबाइल तस्करीको क्रममा घुस लेनदेन गर्ने प्रहरी जवानसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

    ईलाका प्रहरी कार्यालय (ईप्रका) बर्दघाटका प्रहरी जवान संजिव धवल तथा चितवन, भरतपुर महानगरपालिका, वडा नम्बर–८ स्थायी वतन भएका अर्जुन प्रसाद शर्मा र वडा नम्बर–२१ स्थायीका इन्द्रलाल श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।



    मोबाइल तस्करी गर्ने शर्मा र श्रेष्ठले जवान धवललाई एक लाख ७५ हजार रुपैयाँ घुस दिएको अख्तियारको दाबी छ । तर, यसमा जोडिएका तत्कालिन डिआइजी मुकुन्द आचार्यले भने क्लिनचिट पाएका छन् । आचार्य एआइजी पदबाट अवकाश पाइसकेका छन् ।



    ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटना तस्करीसँग जोडिएको कुरा आएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

    छानबिन समितिले मोबाइल तस्करीमा प्रहरीले सहयोग गरेको प्रतिवेदन दिएको थियो । सोही आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो । २०७८ को साउन २५ गते मा इन्सपेक्टर वाग्लेको दुर्घटनामा मृत्यु भएको थियो ।

    त्यसको अघिल्लो दिन उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । इन्सपेक्टरको मृत्यु मोबाइल तस्करीसँग जोडिएको र यसमा तत्कालिन प्रदेश डिआइजी मुकुन्द आचार्यको समेत मिलमतो रहेको भन्दै कांग्रेस नेता देवेन्द्रराज कँडेलले संसदमा बताएपछि सहसचिव सुनिल खनालको नेतृत्वमा छानबिन समिति बनेको हो ।

    जसमा नेपाल प्रहरीका तत्कालिन एसएसपी सुदीप गिरी र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ सदस्य थिए । डिआइजी आचार्यकै निर्देशनमा मोबाइल तस्कर छुटेको बताइएको थियो । तर, त्यसको पर्याप्त प्रमाण फेला नपरेको भन्दै उनी जोगिएका हुन् । आचार्य लुम्बिनी प्रदेशका प्रहरी प्रमुखका रुपमा त्यसबेला कार्यरत थिए ।

    छानबिन प्रतिवेदनको सुझावहरुमध्ये सादा पोशाकमा परिचालित प्रहरी जवान संजिव धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा ५५ हजार रकमान्तर गर्न लगाएको देखिएको थियो । प्रहरी जवान धवलले गाडी लिई आउनेबाट थप एक लाख २० हजार नगदै लिएका थिए । पछि तस्करीको मोबाइल पूर्वी नवलपरासीमा प्रहरीले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार