Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २९ करोड जम्मा, पुनर्निर्माण अझै अनिश्चित

    जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २९ करोड जम्मा, पुनर्निर्माण अझै अनिश्चित

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 510
    SHARES

    काठमाडौं । गत कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २९ करोड रुपैयाँ जम्मा भएको छ ।

    भूकम्प पीडितको सहयोगका लागि १३६ जना व्यक्ति तथा संस्थाले २९ करोड १९ लाख ९५ हजार १३९ रुपैयाँ कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



    गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण थुप्रै संरचना भत्किँदा १५४ जनाको मृत्यु भएको थियो । यो भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका झन्डै ९५ हजार ७८७ घर भत्किएका थिए ।



    ३ महिनाअघि गएको भूकम्पबाट झन्डै १ लाख हाराहारी परिवार प्रभावित भए पनि उनीहरूको घर पुनर्निर्माणका लागि सरकारी सहयोग भने अनिश्चित बनेको छ । पुनर्निर्माणसम्बन्धी कार्यविधि नै कहिले बन्छ भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव ध्रुवबहादुर खड्काले अहिलेसम्म पुनर्निर्माण कसरी गर्ने भन्ने बारेको कार्यविधि नबनेको बताए । ३ तहका सरकारबिच छलफल गरेर कार्यविधि बनाउनुपर्ने भएकोले यसका लागि समय लाग्ने बताए ।

    खड्काले यसअघि भनेका थिए–‘पुनर्निर्माण सम्बन्धी कार्यविधि बनेको छैन, यसका लागि समय लाग्छ । कार्यविधि निर्माणका लागि छलफल अन्तर्क्रिरयाको क्रममा रहेको छ । यसका लागि तिन तहका सरकारका बिचमा पनि छलफल हुनुपर्छ त्यस कारण समय लाग्ने देखिएको छ । कार्यविधि बनेपछि प्रधानमन्त्री अध्यक्ष रहने कार्यकारी परिषद्ले पास गर्नुपर्ने हुन्छ ।’ कार्यविधि बनेपछि मात्र पुनर्निर्माणको काम अघि बढ्ने हुँदा जाजरकोट र रुकुममा भूकम्प प्रभावितको घर बनाउन सरकारले गर्ने सहयोग अनिश्चित बनेको हो ।

    भूकम्प लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड घटनास्थलमा पुगेर स्थलगत अवलोकन गरी प्रभावितहरूका लागि छिट्टै पुनर्निर्माण गर्ने आश्वासन दिए पनि अझै उनीहरूका लागि स्थायी घर बनाउने कुरै छाडौँ अस्थायी संरचना निर्माणमा समेत सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन । अस्थायी आवासका लागि प्रति प्रभावितका लागि सरकारले ५० हजार रुपैयाँ अनुदान दिने भने पनि प्रभावित क्षेत्रमा पर्याप्त बजेट जान सकेको छैन ।

    सरकारले अस्थायी आवास निर्माण लगायत भूकम्प प्रभावित क्षेत्रमा काम गर्नका लागि १० अर्ब रुपैयाँ विपद् जोखिम न्यूनीकरण कोषमा निकासा गर्ने निर्णय गरे पनि हालसम्म १ अर्ब मात्र निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मन्त्रीपरिषद्ले १० अर्ब रुपैयाँ दिने निर्णय गरे पनि हालसम्म १ अर्ब मात्र दिएको र बाँकी रकम विपद् व्यवस्थापन कोषमा ल्याउनका लागि दैनिक जसो २ जना सहसचिव अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालय धाउने गरेको बताएका छन् । गत पुस १ गते १ अर्ब रुपैयाँ निकासा भए पनि अरू पैसा निकासा नभएको उनले बताए । भूकम्पले ९६ हजार हाराहारी घर भत्काए पनि यी मध्ये हाल १० हजार ३०५ अस्थायी आवास निर्माण भइरहेको छ भने २० हजार १४७ वटा निर्माण सम्पन्न भएका छन् ।

    विपद् व्यवस्थापन प्राधिकरणले हालसम्म २ अर्ब २६ करोड रकम ति जिल्लामा निकासा गरेको छ । जसमध्ये जिल्लाबाट स्थानीय तहमा १ अर्ब ६१ करोड निकासा भएको छ भने स्थानीय तहबाट लाभग्राहीको खातामा १ अर्ब ३ करोड ८१ लाख निकासा भएको छ । पुनर्निर्माण कार्यक्रम अगाडि बढाउनका लागि प्रशासनिक कर्मचारीको अभाव र भएका कर्मचारीले पनि जिम्मेवारी लिन नचाहने, प्राविधिक कर्मचारीहरूको अभाव रहेको प्राधिकरणको भनाइ छ ।

    ६६ अर्ब ४० करोड ५४ लाख लाग्ने अनुमान
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट र रुकुम लगायत पछिल्लो भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुर्निर्माण तथा पुनस्र्थापना लगायतका काम गर्न झन्डै ५ सय मिलियन डलर अर्थात् ६६ अर्ब ४० करोड, ५४ लाख लाग्ने पूर्व अनुमान गरिएको छ ।

    भूकम्पबाट ९५ हजार ७८७ घरमा क्षति पुगेको छ । यी घर पुनर्निर्माणका लागि प्रति घर झन्डै ५ लाख रुपैयाँ अनुदान दिँदा ५२ अर्ब ४२ करोड ७ लाख लाग्ने पूर्व अनुमान गरिएको छ । पुनस्र्थापनाका लागि २८ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ । यस्तै पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पूर्वाधार तर्फ २८ करोड ९२ लाख रुपैयाँ अनुमानित गरिएको छ । स्थानीय स्रोत सामग्री प्रयोग थप प्रोत्साहनका लागि २४ करोड ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    त्यस्तै पुनर्निर्माणसँग सम्बन्धी अन्य विभिन्न विषयमा खर्च हुने प्राधिकरणले पहिचान गरेको छ । स्कुल, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, पुल, खानेपानी लगायत पुनर्निर्माणका लागि ठुलो धनराशि खर्च हुने अनुमान गरिए पनि पूर्ण लागतको स्रोत सुनिश्चितता भइसकेको छैन ।

    जाजरकोटमा भूकम्प जानुअघि बझाङमा ५ दशमलव ३ म्याग्निच्युड र ६ दशमलव ४ म्याग्निच्युडका दुई भूकम्प गएको थियो । यो भूकम्पमा परी १ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । उक्त भूकम्पमा क्षति भएका घरहरूको पनि पुनर्निर्माणको काम अघि बढेको छैन । कोषमा २९ करोड १९ लाख जम्मा भएपनि कार्यविधि नबन्दा पीडितले राहत पाउन सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार