रूपन्देही । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट गरेको छ।
कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बुद्वजन्मस्थल लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरूयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत हेर्ने व्यवस्था गर्न माग गरेका हुन् ।
उपाध्यक्ष लामाले यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्पका लागि निर्णय गरी गृहमन्त्रालयमा फाइल पठाएको बताउँदै पहलका लागि ध्यानआकर्षण गराए।
कोषको ध्यानआकर्षणपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिबद्वता जनाए । लुम्बिनी गुरूयोजनाको ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको छ।
उनले कोषको कामका सन्दर्भमा थप सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए । छलफलमा उपाध्यक्ष लामाले गुरूयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताएका थिए ।