Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका–५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जीवन लामा रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३–००४ प २९१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यता झापाको बिर्तामोड नगरपालिका–६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेरूमा मेचिनगर नगरपालिका-७ घर बताउने २२ वर्षीय अजय राजबंशी र इलाम सन्दकपुर गाउँपालिका-३ घर बताउने २९ वर्षीय रमेश मगर रहेका छन् । प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने १८ वर्षीय किशोर समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी बेचबिखनमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077