Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे पुलिस क्लबको नवनिर्मित भवन 'द ब्लु पेभिलियन’को उद्घाटन

प्रधानमन्त्री ओलीले गरे पुलिस क्लबको नवनिर्मित भवन 'द ब्लु पेभिलियन’को उद्घाटन

शनिवार , माघ २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लबको नवनिर्मित भवनको उद्‍घाटन गरेका छन् । शनिबार एक भव्य समारोहकाबीच नेपाल पुलिस क्लब परिसरमा प्रधानमन्त्री ओलीले नयाँ भवन उद्‍घाटन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन, अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको विमोचन गरे ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गरे ।

यसैगरी प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्‍याउने प्रा.डा. द्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

साथै समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्रहरी सबल र सक्षम हुनुपर्ने बताउँदै नेपाल प्रहरीले जनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवम् कानून बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए ।

यस्तै गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन केवल कानून कार्यान्वयन गर्ने निकाय मात्र नभई मुलुकको स्थायित्व र शान्ति, सुरक्षा कायम राख्ने महत्वपूर्ण संगठन भएको चर्चा गर्दै प्रहरी कर्मचारीको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक क्रियाकलापहरू अभिवृद्धिका लागि नेपाल पुलिस क्लबले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको आन्तरिक सुरक्षा एवम् कानूनको परिपालना र शान्ति सुव्यवस्था कायम गर्ने राज्यको प्रमुख जिम्मेवारी वहन गर्ने नेपाल प्रहरी नागरिकको सुरक्षा, सेवा र भरोसाको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गरे ।

यसैगरी समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरीले आफ्नो स्थापनकालदेखि नै राज्यले सुम्पेको जिम्मेवारीका साथै मुलुकको आन्तरिक सुरक्षा व्यवस्था कायम राख्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, शान्ति सुव्यवस्था कायम राखी सामाजिक सद्भाव र एकता कायम राख्दै अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने महत्वपूर्ण जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077