Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालक अपहरण प्रकरण : पाटनबाट कलंकी हुँदै पञ्जाब लैजादै थिए भियतनामी नागरिकले

बालक अपहरण प्रकरण : पाटनबाट कलंकी हुँदै पञ्जाब लैजादै थिए भियतनामी नागरिकले

आइतवार , माघ २७, २०८१

काठमाडौं । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ । अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको हो ।

प्रहरीले बालकलाई भने कलंकीको एक होटलबाट उद्धार गरिसकेको जनाएको छ । त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत मिलाइसकेको प्रहरी अनुसन्धान खुलेको हो ।

ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो ।

अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो ।

भारतबाट नेपाल आएपछि उनी स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका थिए । ठमेलेस्थित एक होटलमा एक हप्ता बसे । ठमेलको होटलमा एक हप्ता बसेपछि उनी बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलमा बसेको खुलेको छ ।

काठमाडौंमा ठाउँ फेरि फेरि बसेका उनी स्वयम्भू, बौद्ध, कपनलगायत गुम्बाहरुमा लामा भासा सिक्न भन्दै जाने समेत गरेका थिए । घुमफिरमा भने उनी अक्सर ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेको पाइएको छ ।

२५ माघको बिहान साढे १० बजेतिर काठमाडौंबाट वीरगञ्ज जाने न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बबरको बसको सिटी ‘बी’ को ३ ‘र ४ नम्बरको टिकटसमेत उनले बुकिङ गरेका थिए । बस चढेर वीरगञ्ज जान भन्दै उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए ।

प्राविधिक अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएर प्रहरीले गेस्टहाउसमा छापा मारेर बालकलाई उद्धार गर्नुका साथै भियतनामी नागरिकलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा उपचार गराई अवस्था सामान्य रहेको खुलेपछि परिवारको जिम्मा लगाइएको छ ।

बालकलाई पञ्जाब लैजाने र त्यहाँ बिक्री गर्ने योजना बनाएर भियतनामी नागरिकले बालकको आधारकार्ड समेत बनाउन लगाएका थिए । आरोपीको मोबाइलमा बालकको फोटो प्रयोग गरिएको भारतीय आधारकार्डको फोटो भेटिएको छ ।

घुमफिर गर्ने क्रममा गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा हाल अपहरणमा परेका बच्चाको दाइसँग भेट भई भियतनामी नागरिकले कुराकानी गरेको प्रहरी अधिकारीको भनाइ छ । त्यसपछि चिप्स, चकलेटहरु खरिद गरेर बच्चाहरुलाई दिइ ट्याक्सी चढाएर कलंकी पुर्याएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077