काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टाचार आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मेयर बस्नेतविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा मेयर बस्नेतले ८ करोड बढी रकम भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले गरेको जाँच अवधिमा बस्नेत तथा उनको परिवारका सदस्यहरूले कुल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन गरेका थिए। तर, सोही अवधिमा उनले २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको पाइएको छ । यसरी आयभन्दा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बढी खर्च गरेको अभियोगपत्रमा उल्लेख छ ।
बस्नेतले जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, सवारी साधन खरिद, विदेश यात्राका लागि अमेरिकी डलर सटही, छोराको विवाह खर्च, बैंक तथा वित्तीय संस्थामा ठूलो लगानी, बीमा शुल्क भुक्तानी, सुन तथा बहुमूल्य गरगहना खरिद जस्ता कार्यमा ठूलो परिमाणको रकम खर्च गरेका थिए।
कूल आयभन्दा व्यय अधिक हुँदा निज बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्ती खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेकाले सोही रकम बराबरको बिगो जरिवानाको सजाय माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिबाट बस्नेतकी श्रीमती उर्मिला बस्नेतका नाममा समेत घरजग्गा खरिद गरिएको देखिएकाले उनलाई पनि प्रतिवादी बनाइएको छ ।