काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुढानीलकण्ठको एक घरमा छापा मारेको छ ।
आइतबार साँझ क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको सुचनापछि एसएसपी विश्व अधिकारीसहितको टोलीले छापा मारेको हो ।
एसएसपी अधिकारीका अनुसार उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको सूचना प्राप्त भएको थियो ।
सो सूचनापछि एसएसपी अधिकारीको कमाण्डमा खटिएको टोलीले उक्त घरमा छापा मारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख समेत रहेका अधिकारीले सो घरबाट २३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको अनलाइन नेपाललाई जानकारी दिए ।
उनका अनुसार उनीहरुको साथबाट ८८ वटा मोबाइल र १० वटा ल्यापटप पनि बरामद गरिएको छ । उनीहरुमध्ये धेरै जस्तो भारतीय नागरिक रहेका छन् । यस विषयमा पत्रकार सम्मेल गरेर थप जानकारी दिइने काठमाडौं प्रहरीले जनाएको छ ।