काठमाडौं । सिक्टा सिंचाई आयोजनाको ठेक्कामा हुन लागेको फिक्सिङविरुद्ध उजुरीहरू बढ्दै गएका छन् । निर्माण व्यवसायी महासंघदेखि विभिन्न निर्माण व्यवसायीहरुले प्रमाणसहित उजुरी दिइरहेका छन् ।
दुई अर्ब ६० करोडको यो ठेक्कामा झन्डै ३० करोड कमिसनको चलखेल भइरहेको स्रोत बताउँछ । टेण्डरको क्राइटेरियामा निश्चित कम्पनीलाई मात्र मिल्ने प्रावधान राखेर ठूलो चलखेल हुन लागेको हो ।
यसमा उर्जामन्त्री दिपक खड्का र कर्मचारीहरूमात्र होइन देशका उच्च तहका बिचौलियाहरुसमेतको मिलेमतो छ । यसअघि नै अनेक भ्रष्टाचारमा परेको सिक्टा सिँचाई आयोजनाको नहर निर्माणको ठेक्कामा सेटिङ हुन लागेको हो ।
सो ठेक्कामा आठ वटा कम्पनीले प्रतिस्पर्धा लिएकोमा शर्मा एण्ड कम्पनी र कुमार निर्माण सेवालाई दिने गरी उच्च तहमा सेटिङ भइसकेको भन्दै निर्माण व्यवसायी महासंघले नै आयोजनामा उजुरी गरेको छ । सेटिङको काम भने शर्म एण्ड कम्पनीका रमेश शर्मा र कुमार निमार्ण ेवाा शुशिल श्रेष्ठले गरेको स्रोत बताउँछ ।
योग्यतासम्बन्धि क्राइटेरियाको दफा २.४.२ (क) को प्रावधानबाट फिक्सिङ हुन लागेको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । महासंघका महासचिव रोशन दाहालले नै आयोजनालाई औपचारिक रुपमा पत्र लेख्दै सो प्रावधान सच्याउनका लागि माग गरेका छन्।
तर, उच्च तहको सेटिङ रहेकाले आयोजनाले सच्याउन चासो दिएको छैन । त्यस्तै, हाई हिमालयन हाइड्रो कन्ट्रक्सनले पनि सार्वजनिक खरिद अनुगमनको कार्यालयमा उजुरी दिएको छ ।

आफुहरुले आयोजनालाई पत्र लेखेर क्राइटेरिया संशोधनका लागि आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै उजुरी गरिएको छ । ‘कन्भियन्स क्यानल’लाई मात्र मिल्ने प्रावधान राखेर यसमा सेटिङ हुन लागेको यसमा ठूलो आर्थिक भार पर्ने उजुरीमा उल्लेख छ ।
यसअघि पनि सार्वजनिक खरिद अनुगमनको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यससम्बन्धि उजुरी परिसकेको छ । अख्तियारले सार्वजनिक अनुगमनको कार्यालयलाई नै छानविन गर्न पत्राचार गरिरहेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई पनि मिल्न उर्जामन्त्री दिपक खड्काले दबाब दिइरहेको स्रोत बताउँछ ।
[insert page='331437' display='yopanipadhnuhos.php']
यो ठेक्कामा मन्त्रालयकी उर्जा हेर्ने सचिव सरिता दवाडी तथा सिँचाई विभागका महानिर्देशक देवराज निरौलासमेतको मिलेमतो रहेको छ । सिक्टा सिँचाई आयोजनाका केही कर्मचारी भने यसरी भएको सेटिङले पछि आफुहरु भ्रष्टाचारमा तानिने भन्दै डराएका छन् ।
सिक्टाको ४३ किलोमिटर नहर निर्माणका लागि दुई वटा ठेक्का प्रक्रिया अघि बढाइएको हो । सिक्टाको यसअघिको ठेक्कामा पनि ठूलो अनियमितता भई भ्रष्टाचार मुद्दा दायर भएको थियो । अहिले पनि सोही शैलीमा सेटिङ अघि बढेको छ।
ठेक्काको आर्थिक तथा प्राविधिक प्रस्ताव गत शुक्रबार खोल्ने तयारी थियो । तर, विवादपछि १५ दिन लम्बाइएको छ । तर, योग्यताको क्राइटेरियामा संशाधन नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको तयारी छ ।