कैलाली । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका-४ स्थित होटल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले सो होटलमा छापा हानेको थियो । कैलाली प्रहरीका अनुसार होटल सञ्चालक डडेल्धुरा, आलिताल गाउँपालिका-३ की २८ वर्षीया पुजा खड्का सहित अन्य ८ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा आलिताल गाउँपालिका-७ का ४० वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका-३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडी, सिगास गाउँपालिका-३ की २५ वर्षीया हिमा धामी, पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय कालु सिंह धामी, पाटन नगरपालिका-४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलाली, गौरीगंगा नगरपालिका-९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङ, थलारा गाउँपालिका-३ का ३० वर्षीय मिन बहादुर भण्डारी, तथा दुर्गाथली गाउँपालिका-८ का ४३ वर्षीय सुरज दौल्याल रहेका छन् ।
प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्दा नगद रु. एक लाख ९७ हजार ६७२ र दुई गड्डी तास समेत बरामद गरेको छ ।
हाल पक्राउ परेका व्यक्तिहरूमाथि वडा प्रहरी कार्यालय, धनगढीबाट थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।