काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
उदयपुर गढी गाउँपालिका-७ घर भई हाल काठमाडौं कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।
गत माघ २४ गते काठमाडौं महानगरपालिका-२८ कमलपोखरीस्थित शानदार मःम हाउसमा ग्यास चुहिएर सिलिन्डर विस्फोट भएको थियो। प्रदीपको शुक्रबार दिउँसो साढे २ बजे अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त ग्यास विस्फोट घटनामा मृतकको संख्या ३ पुगेको छ । यसअघि मकवानपुर हेटौंडाका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको थियो। घटनामा ११ जना घाइते भएका थिए ।