काठमाडौं । नेपाल प्रहरीका विवादास्पद डिएसपी हेमबहादुर शाहीलाई प्रहरी प्रधान कार्यालयले महत्वपूर्ण जिल्लाको इन्चार्ज दिएको छ ।
शुक्रबार भएको काज सरुवामा उनलाई रसुवाको प्रहरी प्रमुखका रुपमा खटाइएको छ ।
डिएसपी शाही यसअघि अनेक काण्डमा मुछिएका अधिकृत हुन्। इप्रका कोहलपुरमा हुँदा खसी घुस मागेको काण्डमा उनी कारबाहीमा परेका थिए।
तरुण दलका नेतासँग खसी मागेको अडियो नै सार्वजनिक भएको थियो। खसी नदिएपछि पक्राउ गरेर उनले मुद्दा चलाउने प्रयास गरेका थिए।
त्यो भन्दा गम्भीर आतंकवादी समूहसँग उनको कनेक्सन भेटिएको थियो। आतंकवादी क्रियाकलापमा संलग्न कालिकोटका महेन्द्रजंग शाहसँगको समूहसँग उनको निकटता देखिएको भन्दै इन्टरपोलको सिंगापुर शाखाले नेपाल प्रहरीलाई गत भदौमा पत्राचार गरेको थियो।
जसमा नेपाल प्रहरीले सामान्य छानविन गरेर उनलाई उन्मुक्ति दिएको थियो । शाही उनीहरुकै निम्तोमा मलेसिया र सिंगापुर घुम्न गएकोमा पछि त्यहाँको अध्यागमनले विमानस्थलबाटै फकाईदिएको थियो।
महेन्द्रको सम्बन्ध आतंकवादी समूह आइएससँग देखिएको थियो।
त्यस्ता समूहलाई उनले पनि अप्रत्यक्ष रुपमा सघाएको हुनसक्ने आशंका थियो। तर, दबाबकै भरमा उनीमाथि गम्भीर अनुसन्धान भएन ।
अहिले उनै शाहीलाई रसुवाको इन्चार्ज बनाएर पठाइएको छ । उनको सरुवामा आर्थिक चलखेलको गन्ध आएको प्रहरी अधिकारी बताउँछन् ।
उनले यसअघि पनि दुई वटा महत्वपूर्ण इन्चार्ज पाइसकेका छन्। जहाँ पनि आर्थिक चलखेलका कारण उनी बदनाम हुने गरेका छन्।