काठमाडौं । नेपाल प्रहरीका एसएसपी सानुराम भट्टराईमाथि कारबाही हुने भएको छ ।
अन्तरजातीय विवाह गर्ने सर्लाहीका जोडीमाथि ज्यादती गरेको घटनामा उनकै निर्देशनमा भएको खुलेपछि भट्टराई अनुसन्धानको दायरामा तानिएका हुन् ।
स्रोतका अनुसार राष्टिय मानव अधिकार आयोगले यस प्रकरणमा उनको पनि बयान लिएको छ । भट्टराईले आफुले उक्त जोडीलाई पक्राउ गर्न प्रहरी मुम्बई नपठाएको भनेर ढाँटेका छन् ।
उनकै निर्देशनमा खटिएको प्रहरीले सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारलाई मुम्बई पुगेर पक्राउ गरेको छ । दलित केटासँग बिहे गरेको भनेर नेहाका बुबाले प्रहरीलाई प्रभावमा पारी त्यसरी पक्राउ गर्न लगाएका हुन् ।
यो घटनामा आयोगले एसपी रुगम कुँवर तथा सहायक हवल्दार इन्द्र पोखरेलसँग पनि बयान लिइसकेको छ । यो घटनामा एसएसपीसहितका प्रहरीको ज्यादती पुष्टि भइसकेको आयोग स्रोत बताउँछ ।
पक्राउपछि पनि उनीहरुलाई यातना दिएको विषयमा आयोगले अनुसन्धान गरिरहेको थियो । मुम्बई जाने टोलीमा खटिएका हवल्दार पोखरेल एसएसपी भट्टराई अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा उनको बिशेष घुमुवाका रुपमा खटिएका थिए ।
जसकारण उनी सिनियर हाकिमलाई समेत टेर्दैन थिए । एसएसपीको आडमा उनले अवैध असुली धन्दा मच्चाएको प्रहरी अधिकारी बताउँछन् ।
यो विषयमा हाल संसददेखि विभिन्न निकायमा कुरा उठिरहेको छ । दोषीमाथि कारबाहीको माग गरी दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आएका छन्।
एसएसपी भट्टराईको करिअरमा पनि यो घटनाले धक्का लाग्ने देखिएको छ । राजनीतिक आडमै उनी बढुवामा सधैं अगाडि रहँदै आएका छन् ।