हेटौँडा । गोरु तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा मकवानपुरको रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित तीन प्रहरीको जिम्मेवारी खोसिएको छ ।
हेटौंडा हुँदै भइरहेको गोरु तस्करी प्रकरण छानबिनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो । इन्चार्ज फुयाँलसहित प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तस्करी प्रकरणमा संलग्नताको छानबिन गर्न उनीहरूलाई जिल्ला तानिएको छ । चौकीको नयाँ इन्चार्जका रूपमा प्रहरी सहायक निरीक्षकलाई पठाउने निर्णय भएको छ ।
आइतबार राति चितवनबाट हेटौँडा हुँदै पथलैयातर्फ गोरु बोकेको ट्रक बा.प्र. ०३–००१ ख १४२४ पथलैयामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले ट्रकलाई स्कटिङ गरी रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका पार गराएको आरोप छ।
यसैबीच, जिल्ला पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्करीमा संलग्न भिष्म राईलाई ५ हजार रुपैयाँ जरिवाना गरि गोरुहरूलाई फिर्ता गर्न व्यवस्था गरेको छ । गोरु ढुवानीकर्ता राईलाई सम्पर्कमा ल्याएर कार्यालयले मापदण्ड विपरीत गोरुहरू ल्याएको भन्दै जरिवाना गरेको दाबी गरिएको छ ।