काठमाडौं । बाल यौन दुरूपयोग गरेका रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध मुद्दा दायर भएको हो । सरकारी वकिलले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो।
उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो।
उनलाई पक्राउ गरी कारबाहीका लागि सर्लाही पठाएको थियो।अनुसन्धान र अभियोजन गरी अदालतमा पेस गरेको थियो।
अदालतले गत असार १७ गते जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो।
पीडितलाई बालिकालाई ५ लाख क्षतिपूर्ति दिन पनि भनिएको थियो। उनीविरूद्ध रौतहटकी गंगामाया तामाङले जाहेरी दिएकी थिइन्।
आफू १४ वर्षकी हुँदा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्।