Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अबैध २५ करोडका मालिक पौडेल दुबई पुगेको आशंका, दाजुभाइ नै शंकाको घेरामा

अबैध २५ करोडका मालिक पौडेल दुबई पुगेको आशंका, दाजुभाइ नै शंकाको घेरामा

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट नेपाल–खासा चल्ने डिब्बाको ड्राइभर बस्ने सिटमा फल्स बटम बनाई अबैध रुपमा चीन पुर्याउन खोजिएको २५ करोड नेपाली रुपैयाँ बराबरको डलर र युरोका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल मात्रै नभई उनका दाजुभाइ पनि रहेको खुलेको छ ।

चैत ४ गते राती बरामद उक्त अबैध डलर र युरोका मालिक नारायण पौडेल सहित उनका भाइ बच्चु पौडेल र राजकुमार पौडेल भएको स्रोतको दावी छ ।

यद्यपी बुधबार राजस्व अनुसन्धान बिभागले गरेको पत्रकार सम्मेलनमा उक्त रकम नारायण पौडेलको मात्र भएको जानकारी दिएको थियो ।

यी तीनै भाइ नेपालबाट रक्तचन्दन चीन लानेदेखि भेप र अबैध सुन नेपालमा भित्र्याउने नाइके नै मानिन्छन् । अबैध हुन्डी कारोबारमा पनि उनीहरु लामो समयदेखि संलग्न रहँदैआएका छन् ।

हुन्डीमार्फत् मात्र होइन, उच्च प्रहरी नेतृत्वसम्म सेटिङ गरी ट्रकमै रकम चीनमा लाने गर्दै आएका थिए । तर, चैत ४ गते भने प्रहरीले विशेष सूचनामार्फत उक्त अवैध रकम बरामद गरेको थियो ।

२०६० को दशकमा रक्तचन्दन तस्करीबाट अथाह कमाएका तीनै दाजुभाइले संयुक्तरुपमा नै कारोबार गर्दैआएका छन् । चैत ४ गते पनि पौडेल दाजुभाइले कुसाङ लामालाई उक्त रकम चीन पठाउन लाग्दा टोखामा प्रहरीले बरामद गरेको थियो ।

तीनै भाइ २५ करोडका मालिक भए पनि राजस्वले नारायण पौडेलको नाममात्र लिएको छ । नारायण पौडेलले मिलाउनका लागि राजश्वदेखि प्रहरी र राजनीतिक दलका शिर्ष नेताहरुसँग प्रयास गरेका थिए । तर, उनी यो पटक भने असफल भए ।

[insert page='339009' display='yopanipadhnuhos.php']

रक्तचन्दन, सुनदेखि सबै खालका तस्करी गर्ने पौडेल केही बर्षअघि काठमाडौंको एक जुवाखालबाट पक्राउ परेका थिए । प्रहरी बृत्त महाराजगञ्जले पौडेलसहित ५ जना जुवाडेलाई २०८० असारमा ग्रिनल्याण्ड स्कुल नजिक एक घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

जुवाखालमा पनि भेटिने पौडेल हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा पक्राउ परी जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् । उनी त्यतिबेला अदालतमा ठूलो सेटिङ मिलाएर छुटेको उनकै समकक्षीहरु बताउँछन् ।

अबैध रकम सहित आफ्ना विश्वासपत्र कुसाङ पक्राउ परेपछि भागेर दिल्ली पुगेका नारायण पौडेल अहिले दुबइमा भएको बताइन्छ । अबैध रकम प्रकरणमा आफू उम्किनका प्रहरीका उच्च तहसम्म साँठगाँठ गरेपनि अन्नतः प्रहरीले उनको अवैध कार्यलाई साथ दिएन ।

चाकललाई मात्र दोषी देखाएर उम्किन खोजेपनि काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद २५ करोड रुपैयाँ राजस्व अनुसन्धान बिभागमा बुझाएपछि उनको कर्तुत बाहिर आएको हो ।

राजस्वको प्रारम्भिक अनुसन्धानमा अवैध २५ करोडका मालिक नारायण भएको देखिए पनि बिभागले अझ गहन छानबिन गर्ने हो भने बच्चु पौडेल र राजकुमार पौडेलको संलग्नता भेटिने राजश्वकै एक अधिकृत दावी गर्छन् ।

प्रहरीले अवैध रकम बरामद गर्दा नै २५ करोड नारायणकै भएको सूचना पाएपनि उच्चतहकै कनेक्सनका कारण उनी उम्किन सफल भएको स्रोतको दाबी छ ।

उच्च राजनीतिक दबाब दिएर प्रहरीमा मिलाउन खोजेका पौडेलले राजस्वमा समेत निकै कोसिस गरेका थिए । तर राजस्व अनुसन्धान बिभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले कसैको दबाब पनि नसुनी अनुसन्धान गरी उनको नाम सार्वजनिक गरिदिएका छन् ।

राजस्वले २५ करोडका मालिक पौडेल भएको जानकारी दिएको छ । तर उनका दुई भाइ बच्चु र राजकुमारसमेत उक्त अवैध रकमका मालिक हुन् भन्ने तथ्यमा भने राजस्व पुग्न नसकेको हो कि भन्ने बुझाइ तातोपानीका ब्यापारीहरुमा छ ।

नारायण, बच्चु र राजकुमार पौडेलले संयुक्त रुपमा चीनमा ट्रकमा पैसा लाने र उताबाट तस्करी गर्ने गरेको सिन्धुपाल्चोककै व्यापारीहरू बताउँछन् ।

नारायणका भाइ राजकुमार पौडेल भोटेकोशी गाउँपालिकाको अध्यक्ष भएकै समयमा पनि सुन तस्करीमा फरार भएका थिए । केरुङबाट पेम्बादोर्जे शेर्पाले कन्टेनरमा लुकाएर ल्याएको २२ किलो सुन प्रहरीले काठमाडौंमा बरामद गरेपछि उक्त सुन राजकुमारको भएको खुलास भएको थियो । प्रहरीले २०७४ कात्तिकमा मुद्दा दायर गरेपछि उनी फरार भएर केही महिनापछि मात्र आएका थिए ।

२२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नारायण पौडेलका जेठा दाजु २०५४ मा फुल्पिङकट्टी गाविसको अध्यक्ष भएका थिए । माइला नारायण हुन् । साइँला बच्चु पौडेल हुन् । कान्छा २०७४ मा भोटेकोशी गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्ष भएका थिए । नारायण पनि माओवादीनिकट हुन् ।

नारायण पौडेलका दाजुभाई अवैध हुण्डी कारोबारीमा समेत संलग्न रहँदै आएको यस अघि नै खुलिसकेको छ । प्रहरीले अबैध हुन्डी कारोबारमा संलग्न साना माछालाई पक्राउ गर्ने गरेको भएपनि नारायण, बच्चु र राजकुमार पौडेल जस्ता ह्वेल माछालाई भने छुन समेत सकेको छैन ।

काठमाडौंको न्यूरोडमा जयरत्न बचत तथा ऋण सहकारी संस्थामार्फत् बच्चु, नारायण र राजकुमार पौडेलले हुण्डीको कारोबार गर्दैआएको स्रोतको दावी छ । बच्चु पौडेलका दाजुभाइ नै हुन्डी कारोबारमा संलग्न रहेका छन् ।

हुन्डी, सुन र डलरको कारोबारबाट रातारात अरबपति बनेका उनीहरुले प्रहरीको उच्चतहलाई मासिक दररेट घुस बुझाउने गरेको समेत स्रोतको दावी छ । त्यसैले पनि उनीहरु पटक–पटक बच्दै आएका छन् । नक्कली एलसी काण्डमा जेल बसिसकेका नारायण पौडेलले अहिले पनि भारतमा बसेर सामुद्रिक बाटो हुँदै चीनतर्फ अबैध रक्तचन्दन तस्करी गर्दै आएका छन् ।

सोलुखुम्बु र पर्साका सोझासिधा नागरिकको नाममा कम्पनी खोलेर ऊन आयात गर्ने भनी आयात नै नगरी एलसी खोलेर पौडेलहरुले करोडौं डलर अपचलन गरेका थिए । इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डेसँग मिलेर उनले नक्कली एलसी खोलेका थिए ।

ऊन आयातको एलसी तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट लगातार खोल्ने र ऊन भने आयात नै नहुने गरेको पाइएपछि पौडेललाई २०५९ मा राजस्व अनुसन्धान विभागले पक्राउ गरी मुद्दा चलाएको थियो ।

पाँच वर्षअघि पनि कुनसाङ सुनसहित पक्राउ पर्दा पौडेलको नाम जोडिएको थियो । तर, त्यतिखेर भने पौडेलले प्रहरीमा सेटिङ मिलाएका थिए । तत्कालिन अपराध महाशाखाले पौडेलको गाडी खोलेर चेकजाँच गर्दा पहिले नै सूचना चहिएका कारण पौडेल जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077