काठमाडौं । प्रमुख प्रतिपक्ष दलले चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाबारे अनुसन्धान गर्न छानबिन आयोग नै गठन गर्नुपर्ने माग गरेको छ ।
प्रतिनिधिसभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेका हुन् ।
प्रमुख सचेतक पाण्डेले भने–‘बालकुमारीमा पनि यस्तै घटना भएको थियो, आयोग नै बनेको थियो, गृहमन्त्रीले यो समितिको बैठकमा बोल्दा छानबिन आयोग गठनको कुरा त उठाउनुभएन के हो ?’
सांसद दुर्गा राईले प्रहरीको अनुसन्धानबाट मात्रै सबै विषय नआउने भन्दै छानबिन आयोग नै गठन गर्न माग गरिन् । उनले भनिन्–‘यो १५ गतेको घटनाका लागि छानबिन आयोग बन्नुपर्छ । हाम्रो पार्टी र मेरो व्यक्तिगत माग छ । सुरक्षाकर्मीबाट आएको प्रतिवेदनले मात्रै यो विषय सम्बोधन हुन सक्दैन ।’
सांसद राईले सरकाले एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति दिएर लापरबाही गरेको बताइन् । उनले भनिन्–‘कार्यक्रम स्थल संवेदनशील ठाउँमा थियो, यसमा सरकारको लापरबाही गर्यो । संविधानको रक्षाका लागि समाजवादी मोर्चाको आन्दोलन थियो ।’
सांसद राईले सरकारले अध्यादेश पारित गर्नमा मात्रै ध्यान दिएको तर, राजावादीको प्रदर्शन र सदनमा जवाफ दिनमा ध्यान नदिएको बताइन । उनले भनिन्–‘ सरकारको ध्यान अध्यादेशमार्फत ल्याएको विधेयक पारित गर्नमा मात्रै थियो, १८ गते ६० दिन पुग्छ भनेर सरकार आत्तिएको थियो । अबदेखि यस्ता घटनामा सरकार सचेत रहोस् ।’