नवलपरासी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रको सडक अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
जागरण अभियान अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पश्चिमको निर्वाचन क्षेत्र नं. २ मा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रचण्डले सो सडकमार्गको कठिन यात्रा अनुभव सुनाएका हुन् ।
उनले भने, “हिजो हामी नवलपरासी पूर्वबाट पश्चिम आउँदा दाउन्नेमा अफ्टयारो सडकले हाम्रा केही सहयात्री बिरामी हुनुभयो। गाडी उफार्ने र पछार्ने क्रममै साथीहरूको ढाड दुख्ने र असहज हुने अवस्था आयो। हामीले त्यो बाटो हिँड्ने कि नहिँड्ने भन्ने नै निर्णय गर्नुपरेको थियो। तर, जनताले हिँड्ने बाटो नेताले छोड्न मिल्दैन भन्ने सोचेर यात्रा निरन्तर गर्यौँ।”
प्रचण्डले उक्त अनुभवले जनताको दैनिक यात्रामा पर्ने कठिनाइप्रति थप संवेदनशील बनाएको उल्लेख गर्दै भने “हामीले त्यो बाटो हिँडेर जनताले कस्तो दुःख भोगिरहेका छन् भन्ने बुझ्न खोज्यौँ। साँच्चै गाह्रो त गाह्रो नै रहेछ ।”