Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डीआईजीका १० पदमा २७ एसएसपीको प्रतिस्पर्धा

डीआईजीका १० पदमा २७ एसएसपीको प्रतिस्पर्धा

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका डीआईजीका १० पदमा २७ डीआईजीबीच प्रतिस्पर्धा अघि बढेको छ । तिव्र टक्करका कारण डीआईजी बढुवामा पनि बिलम्व हुने देखिएको छ ।

बढुवामा तीन टोलीबीच प्रतिस्पर्धा छ । यसअघि बढुवामा छुटेका, राष्ट्रिय अनुसन्धान विभागबाट आएका र ११२ को टोलीबीच प्रतिस्पर्धा छ ।

उनीहरुमध्ये ११२ को टोलीबाट भावी आईजीपी हुने भएकाले सोही ब्याचभित्र पनि अघिल्लो नम्बरमा बढुवा हुने प्रतिस्पर्धा चर्को छ ।

ज्येष्ठताका आधारमा ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिपसिंह देउजा, बिनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दिपक कुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजीव शर्मा दास, शारदाप्रसाद चौधरी अगाडि छन् ।

उनीहरुमध्ये राना, श्रेष्ठ, घर्ती, देउजा, घिमिरे, सापकोटा, गुरुङ, दास र चौधरी राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली हुन् । दिपक रेग्मी महिला काण्डमा कारबाहीमा परेकाले बढुवामा पर्ने सम्भावना न्यून छ । सुदर्शन कोइराला र दिपक बस्नेत पनि कार्यसम्पादनमा निकै कमजोर मानिन्छन् ।

त्यसपछिका ११२ को टोलीका एसएसपीहरु कार्यसम्पादनमा पनि योग्य मानिन्छन् । जसमा बिश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन छन् ।

उनीहरुमध्ये एक जना २०८४ को चैतमा आईजीपी हुने भएकाले अहिले डीआईजीमै चर्को प्रतिस्पर्धा छ । पहिलो नम्बरमा रहेका विश्व अधिकारी हाल काठमाडौं प्रहरी प्रमुख छन् ।

तर, उनले काठमाडौंमा अपेक्षाकृत काम गर्न नसकेकोमा गृह नेतृत्व सन्तुष्ट नरहेको स्रोत बताउँछ । भूपेन्द्र खत्रीलाई कांग्रेस नेताहरुको आड छ ।

सानुराम भट्टराई प्रधानमन्त्री केपी ओलीको भरोसामा छन् । उनी ओलीका पूर्वपिएसओ हुन् । तर, अपराध अनुसन्धान कार्यालयमा हुँदा एक जोडीलाई पक्राउ गर्न भारत गएको घटनामा उनीमाथि राष्ट्रिय मानव अधिकार आयोगले छानविन गरिरहेको छ ।

छानविन प्रतिवेदन रोकेर उनी बढुवा हुने दाउमा छन् । त्यस्तै, ओम अधिकारी, सोमेन्द्रसिंह राठौर, गंगा पन्त पनि बढुवाका दोबदार मानिएका छन् । यो ब्याचबाट गंगा र तारादेवीमध्ये एक महिलाले अवसर पाउने सम्भावना छ ।

एआईजीका पद रिक्त एक महिनापछि गत साता बढुवा सिफारिस भएको थियो । कांग्रेसले जोड नदिएपछि ज्येष्ठताकै आधारमा एआईजी बढुवा भएपनि डीआईजी बढुवामा भने कांग्रेसले पनि आफ्ना मान्छे अघि बढाउने तयारी गरेको छ ।

कतिपय एसएसपीहरु भने आर्थिक चलखेलकै आधारमा बढुवा हुने दाउमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077