काठमाडौं । आफू कानून मन्त्रालयको उपसचिव हुँ भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिला त्रिपुरेश्वरबाट पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका–५ स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका–२५ बसोबास गर्ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छिन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
न्यौपानेले पीडितहरूलाई आफू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विमानस्थलमा हुने विभिन्न ठेक्कामा काम दिलाइदिने प्रलोभन दिएकी थिइन् ।
सोही बहानामा उनले राजस्व र धरौटी रकमको नाममा एक जना पीडितबाट ७ लाख ६० हजार ८ सय असुलेकी थिइन्।
त्यस्तै, अन्य दुई व्यक्तिलाई पनि अनुदान तथा ठेक्का दिलाइदिने भन्दै रकम लिइसकेकी थिइन् भने बाँकी रकम माग्दै गर्दा प्रहरीको निगरानीमा परेकी हुन्।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।