रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकामा कुकुरलाई रुखमा झुन्ड्याएर मारेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका–७ का २० वर्षीय सुन्दर परियार र सोही स्थानका १८ वर्षीय डम्मर पुन रहेका छन् ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–७, हार्जङ क्वाछिवाङमा गत वैशाख ३ गते कुकुरलाई अमानवीय व्यवहार गर्दै रुखमा झुन्ड्याई मारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
भिडियो सार्वजनिक भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा उनीहरुलाई वैशाख ७ गते पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत रोल्पाबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
फौजदारी कानुनको पशुपंक्षी सम्बन्धी कसुर अनुसार नै कुकुरलाई मार्ने व्यक्तिहरूलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा संलग्न व्यक्तिलाई ३ महिनासम्म कैद वा ५,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । पशुलाई क्रूरतापूर्वक हत्या गरेमा सजाय अझ कडा हुन सक्छ, जसमा जरिवाना र कैद दुवै लागू हुन सक्ने बताइएको छ ।