काठमाडौं । सिचाई विभाग मातहतको एक ठेक्कामा कीर्ते कागजपत्र पेश गरिएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । ठेक्का हत्याउन नक्कली कागजपत्र पेश गरिएको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेको हो ।
मिलेमतोमा सरकारी ठेक्का हत्याउँदै आएको समानान्तर निर्माण सेवाले एक भारतीय कम्पनीसँग मिलेर करिब १४ अर्बको ठेक्का हात पार्न लागेको हो ।
एडिबीको सहयोगमा तराईका जिल्लामा सुरु हुन लागेको आयोजनाको ठेक्कामा चलखेल भएको हो । जून विषयमा सिआइबीमा उजुरी परेको छ। सिआइबीमा जाहेरी दर्ता नगरीकन गोप्य रुपमा अनुसन्धान भइरहेको स्रोत बताउँछ ।
‘यो विषयमा गोप्य रुपमा अनुसन्धान भइरहेको छ,’ सिआइबीका अधिकारी भन्छन्,‘यसमा उच्च पदस्थ व्यक्तिहरुको चासो छ ।’
सिआइबीका निमित्त प्रमुख चन्द्रकुबेर खापुङले एसएसपी र एसपीहरुलाई समेत जानकारी नदिई एक इन्सपेक्टरलाई गोप्य रुपमा अनुसन्धान गर्न लगाएका छन्। सेटिङ मिलाउने गरी अनुसन्धान हुन लागेको स्रोत बताउँछ ।