काठमाडौं । बुधबार दिउसो एकाएक एक प्रहरीले अर्को प्रहरीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।
नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरीका एक जवानलाई कुटेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि तत्कालै प्रहरीले छानबिन शुरु गर्यो ।
छानविनका क्रममा कुट्ने र कुटाई खाने दुवैको पहिचान भयो । कुट्ने ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्रकुमार साह र कुटाई खाने प्रहरी जवान मदन खड्का रहेको खुल्यो ।
ड्युटीमा रहेको बेला बर्दीमै मध्यसडकमा हातपातमा उत्रिएपछि दुवै जनाको जिम्मेवारी खोस्दै अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले एक विज्ञप्ति जारी गर्दै छानबिनका लागि दुवैलाई जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।
यो विवाद के हो भन्नेबारे प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्मको छानबिनले कुटाइ खाएका प्रहरी जवानले काठमाडौं छिर्न लागेका गाडीहरुबाट अवैध रुपमा रकम उठाएको खुलेको छ ।
कुटाई खाने प्रहरी जवान मदन खड्कामाथि काठमाडौं छिर्न लागेको भारतीय नम्बर प्लेटको गाडीसँग रुपैयाँ लिएको आरोप लगाइएको छ । समाजिका सञ्जालमा भाइरल भिडियोमा पनि उक्त कुरा उल्लेख गरिएको छ ।
गलत गरेमा विभागीय कारबाही गर्नुका साटो सडकमै हातपातमा उत्रने उच्च तहका प्रहरीको व्यवहारमाथि पनि प्रश्न उठाइएको छ ।