Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अन्ततः बढ्यो वरिष्ठ सइको तलब, ग्रेड समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णय

अन्ततः बढ्यो वरिष्ठ सइको तलब, ग्रेड समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहिवार , जेठ २, २०८२

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलब बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुङले बिहीबार सार्वजनिक गरिएको निर्णयमा भनिएको छ,‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहको तलबमान र ग्रेड समायोजन गर्ने।'  ग्रेड समायोजन नहुँदा वरिष्ठ सईहले सई पदमा पाएको भन्दा कम तलब पाउने अवस्था थियो ।

तह र फुली बढ्दा तलब घटेर अन्याय भएको भन्दै वरिष्ठ सइहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए । जसमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले समेत १० महिनाअघि नै समायोनजका लागि आदेश दिएको थियो । प्रहरी महानिरीक्षक दिपक थापाले पनि समायोजनका लागि पहल गरेका थिए।

कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपेको थियो । जसअनुसार ०७८ को चैतमा एक हजार चार सय १८ जना वरिष्ठ सइमा बढुवा भएका थिए । तर, उनीहरूको तलब दुई सय ६२ रुपैयाँ घटेको थियो ।

वरिष्ठ सइको आधारभूत तलब ४० हजार नौ सय ९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले तीन हजार सात सय ३२ मात्र पाउने गरेका छन् । तर, सइको तलब भने ४३ हजार नौ सय ९४ रुपैयाँसम्म छ ।

यो समस्या समाधान गर्न वरिष्ठ सइहरूले सामूहिक रूपमा प्रहरी महानिरीक्षक, गृह मन्त्रालय तथा अर्थ मन्त्रालयलाई आग्रह गरेका थिए । तर, समस्या समाधान नभएपछि अदालतमा गएका हुन् । उनीहरूको मागअनुसार नै अदालतले परमादेश दिएको थियो ।

वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो अन्याय भएको हो । प्रहरी नियमावलीको नियम १४३ मा कुनै प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाको बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधासम्बन्धी सेवाका सर्तमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिनेछैन भन्ने व्यवस्था छ ।

सो प्रावधानविपरीत वरिष्ठ सइको तलब घटाइएको थियो । सइबाट वरिष्ठ सइमा बढुवा हुँदा काँधमा फुली बढे पनि तलब घटेपछि निराश बनेका प्रहरी अधिकारीले ०८० को असार र पुसमा रिट हालेका थिए ।

वरिष्ठ सइहरू विनयबहादुर चन्द, रामसिंह बोहरा, विनोदबहादुर डिसी, रामबहादुर कार्की, कृष्णकुमार यादव, चन्द्रकान्त जोगी, चन्द्रशेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वरबहादुर थापा, अरुणकुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्यभान चौधरीलगायतले रिट दायर गरेका थिए । उनीहरूले बढुवा भएकै वेलादेखिको तलब वृद्धिको माग गरी रिट दायर गरेकोमा सर्वाेच्चले मागअनुसार हुने फैसला गरेको हो । अन्ततः करिब तीन वर्षको प्रयासपछि वरिष्ठ सइहरुमाथि न्याय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077