काठमाडौं । काठमाडौंको वनस्थलीस्थित एक वर्कसपबाट चोरी भएको विद्युतीय माइक्रो बस धादिङमा भेटिएको छ ।
गत वैशाख २९ गते बिहान करिब साढे ४ बजे काठमाडौं महानगरपालिका–१६, वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्र पार्किङ गरी राखेको बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रो बस चोरी भएको थियो ।
उक्त माइक्रो बस स्याङ्जा, बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६, वनस्थली बस्ने १९ वर्षीय सुदिप थापाले चोरी गरी धादिङ पुर्याएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय, धादिङको समन्वयमा उनलाई उक्त सवारीसाधनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ परेका थापाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।