काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले पछिल्ला दिनमा केही सञ्चार माध्याममा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीद्वारा जारी विज्ञप्तिमा हालै केही सञ्चार माध्यामहरूले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुखको नाम र तस्वीर प्रयोग गर्दै 'गलत, आधारहीन, कपोकल्पित र तथ्यविपरित' समाचार सम्प्रेषण गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “समाचारले प्रमुखको व्यक्तिगत चरित्र, पेशागत आचरण तथा संस्थागत छविमा आघात पुर्याउने ढंगले गलत सन्देश प्रवाह गरिएको छ, जसप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”
विगतका कार्यकालमा समेत विभिन्न इलाका र जिल्लामा कार्यरत रहँदा प्रमुखले उल्लेखनीय सफलता हासिल गर्दै शान्ति-सुरक्षा कायम गर्न भूमिका निर्वाह गरेको तथ्य स्मरण गराउँदै विज्ञप्तिमा थप भनिएको छ, “जिल्ला भित्र भएका जघन्य र गम्भीर घटनाहरुको सफल अनुसन्धान गरी अभियुक्तलाई कानूनी दायरामा ल्याइएको छ। साथै अन्य निकायहरूसँग निरन्तर समन्वय गर्दै शान्ति र सु-व्यवस्थाको प्रत्याभूति दिलाइएको छ।”