धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे ।
कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज धादिङको ठेक्कापट्टामा सक्रिय छन् ।
जेल भित्र रहेका समिरमान बस्नेतसँग केहीमहिनाअघि खटपट भएपनि उनले रकम पठाइदिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेको प्रहरी स्रोत बताउँछ ।
उनै राधे समूहले धादिङको निकै दूर्गम मानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ ।
राधे समूहका राम अकिलसिंह गुरुङसहितका व्यक्तिले गत वैशाख २६ गते राती अशोक समूहमा रहेका विवस तामाङ र अशोक तामाङका छोरामाथि खुकुरी प्रहार गरेका छन् ।
यसअघि कर्तव्य ज्यान मुद्दामा समेत कैद सजाय भागेर बाहिर आएका झ्याप्ले भन्ने अमर लामा, राम अकिल सिंह गुरुङ, सौजल गुरुङ र प्रविन कटुवालको समूहले खुकरी प्रहार गरेको स्थानियले बताएका छन् ।
सुत्केरी महिलालाई उपचारका लागि खनियावास गाउँपालिका–४ दार्खास्थित स्वास्थ्यचौकीमा पुगेका दुई युवामाथि खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको छ ।
खुकुरी प्रहारबाट विवस तामाङ गम्भिर घाइते भएका छन् । स्थानियबासीका अनुसार गत वैशाख २६ गते राती ११ बजेर ३५ मिनेटजाँदा विवसमाथि खुकुरी प्रहार भएको हो ।
घटनाबारे प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमाललाई प्रतिक्रिया माग्दा जाहेरी आएको स्विकार गरेका छन् ।
घाइते तामाङको उपचारका लागि धादिङ हुँदै काठमाडौं ल्याइएको छ ।
घटनापछि पीडित परिवारले अभियुक्तहरु विरुद्ध किटानी जाहेरी समेत दिएपनि प्रहरीले त्यसलाई गम्भिरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ ।
यद्यपी डिएसपी हमाल भने आफूहरुले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरिक्षकको नेतृत्वमा कमाण्ड नै पठाउने तयारी रहेको बताउँछन् ।
राधे समूहमा रहेका राम अकिल सिंह र झ्याप्ले भनिने अमर लामा आपराधिक कृयाकलापमा संलग्न रहेको प्रहरी रेकर्डमै देखिन्छ ।
२०६९ मंसिर १८ गते भिषण सिंखडासहितको समूहमा रहेका र यो घटनामा फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानिय विजय तामाङको हत्या गरेका थिए ।
विजय समर्थित समूहले घटना भएको १२ घण्टा नबित्दै भिषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो ।
यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो । भिषणको हत्यापछि फरार रहेको समूहले नै तत्कालिन सत्यदेवी गाविस–३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए ।
२०६७ कार्तिक १ गते दार्खाकै स्थानिय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।
उत्तरी क्षेत्रमा राधेको संलग्ताले अपराधको झनै जोखिम
उत्तरी क्षेत्रमा राधे समूह सक्रिय भएपछि खनियाबास गाउँपालिका थप अपराधको संभावना बढेको छ । यो समूह सक्रिय भएसँगै एक अर्कामाथि बदलाको भावले उत्रने संभावना बढेको स्थानियबासीहरु बताउँछन् ।