धनकुटा । आईजीपी दीपक थापाले नेपाल प्रहरी सबैको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै शिष्ट र सभ्य बोली, वचन एवम् व्यवहारका साथ नागरिकमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै आईजीपी थापाले शान्ति सुरक्षा एवम् वस्तुनिष्ठ अपराध अनुसन्धान एवम् नियन्त्रणमा प्रहरीले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आएको बताए ।
आईजीपी थापाले नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघरलगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
आईजीपी थापाले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
नवनिर्मित भवनहरूले जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा मनोबल वृद्धि हुनुका साथै कामप्रति थप उत्प्रेरित हुने विश्वास उनल व्यक्त गरे ।
आत्महत्या, लागूऔषध दुर्व्यसन तथा सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउँदै आईजीपी थापालेघरेलु हिंसा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराधमा थप सचेत हुनुपर्ने एवम् विपद् व्यवस्थापनमा समेत सक्रिय भई कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदरपत्र, प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गरेका थिए ।