दमौली । पूर्वसांसदका छोरामाथि कुटपिट गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएपनि उनलाई प्रहरीले पक्राउ भने गरेको छैन ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले गत फागुनमा पूर्वसांसदका छोरा ५७ वर्षीय प्रभात आलेमाथि कुटपिट गरेका थिए ।
श्रेष्ठलाई पक्राउ नगर्न तनहुँका सांसद एवं पूर्वमन्त्री शंकर भण्डारीले प्रहरीमा दबाब दिएको स्रोत बताउँछ । श्रेष्ठलाई पक्राउ नगरी सरकारी वकिलमार्फत मुद्दा मिलाउने चलखेल पनि भएको छ ।
जग्गाको बाटो विवादका विषयमा अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा बोलाएर फागुन ७ गते राति ५७ वर्षीया प्रभातलाई पाइपले कुटपिट गरेका थिए ।
जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको आलेले बताएका छन् ।
भीमादको मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए । उक्त जग्गाको विषयमा उनीहरुबीच ७र८ वर्षदेखि विवाद छ ।
७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति गरिएकोमा कार्यन्वयन नभएपछि विवाद भएको हो ।
कुटपिटबाट घाइते भएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन् भने कुट्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापति समेत रहेका छन् ।
श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाले गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरेपनि श्रेष्ठ भने अझै पक्राउ परेका छैनन्।
घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलचौतारामा जाहेरी दिन पुगे पनि त्यतिबेला प्रहरीले जाहेरी लिन अस्वीकार गरेको पीडित आलेले बताउँदै आएका छन् ।
प्रभात आले गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सांसद जीतप्रकाश आलेका भाइ हुन् ।