अछाम । जबर्जस्ती करणीको आरोपमा अछाम प्रहरीले चौरपाटी गाउँपालिकाका एक जनालाई पक्राउ गरेको छ । त्रफाउ पर्नेमा चौरपाटी गाउँपालिका १ का परिवर्तित नाम ६९ मंगलसैन ११७ रहेका छन् ।
उनले परिवर्तित नाम ६९ मंगलसैन ११६ लाई कुटपिट गर्नुका साथै डर–धम्की दिँदै घरको कोठामा प्रवेश गरी जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ती युवकले वैशाख २८ गते ती युवतीमाथि कुटपिट गर्नुका साथै कोठामा प्रवेश गरी जबर्जस्ती करणी गरेको आरोप छ ।
युवतीले जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएको जाहेरी अनुसार, उक्त व्यक्तिले विगत एक वर्षदेखि पटक–पटक जवरजस्ती करणी गर्दै आएका थिए । पीडितले २०८२ साल जेठ २ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी हुन् ।
जाहेरीकै आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ ३ गते आरोपितलाई पक्राउ गरी हिरासतमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
हाल उनी प्रहरी हिरासतमा छन् र घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । यता स्रोतका अनुसार युवक र युवतीबीच अनैतिक सम्बन्ध रहेको खुलेको छ । उनीहरुबीच ससुरा–बुहारीको नाता रहेको स्रोत बताउँछ ।