काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध लामिछाने र छविलालले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
१९ बुँदै आदेशको १८ औं बुँदामा पछि प्रमाण बुझ्दै जाँदा ठहरिए बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा राखी मुद्दाको कारवाही र किनारा गर्ने गरी भएको उच्चको आदेश बेरितको नदेखिएको उल्लेख छ ।
मिसिल संलग्न सहकारी संस्थाका विभिन्न अभियुक्तहरुको बयान तथा तत्काल प्राप्त प्रमाणबाट दुवैजना आरोपि कसुरदार रहेनछन् भन्ने विश्वास गर्न सकिने मनासिब आधार नभएको दाबी आदेशमा गरिएको छ ।
सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि र छविलाल थुनामा हुनेछन् ।