काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध समान चारवटा अभियोगमा मुद्दा दायर गरिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा उनीहरूमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर अन्तर्गत अभियोजन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मिश्र र राणासहित ६२ जना विरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।
चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा राजावादी समूहले तीनकुनेमा प्रदर्शन गरेका थिए ।
प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक राजावादी समूहले लगाएको आगोमा परेर ज्यान गुमाएका थिए भने प्रहरीको गोलीबाट सविन महर्जनको मृत्यु भएको थियो।