काठमाडौं । विभन्न गम्भीर मुद्दामा संलग्न भनिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी वकिल र प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् ।
प्रसाईंले अभियोजनका क्रममा दिएको बयानमा आफू निर्दोष रहेको दाबी गर्दै घटनामा संलग्न नरहेको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘‘चैत १५ गते १ बजे कार्यक्रम तय भएकाले म १२:३१ मा आफ्नै हाइलक्स गाडीमा कार्यक्रमस्थलतर्फ निस्किएको थिएँ। बाटोमा धेरैले अभिवादन गरिरहेका थिए।’’
उनले थपे, ‘‘तर तीनकुने पुग्दा आँखा पोल्न थाल्यो। मञ्चमा टियर ग्यासको धुवाँ देखेँ। त्यसैबेला मेरो काननजिकै गोलीसमेत चलेको महसुस भयो। त्यसपछि मलाई आज मार्ने योजना छ भन्ने बुझेर चालकलाई गाडीबाट झारेर म आफ्नै सुरक्षाका लागि भागेको हुँ।’’
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनका मुख्य योजनाकारका रूपमा प्रसाईंलाई आरोपित गरिएको छ । यसै सन्दर्भमा जेठ १ गते जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।