कैलाली । कैलालीस्थित भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सेनामाथि नगर प्रहरी टोलीद्वारा कुटपिट गरिएको आरोप सार्वजनिक भएपछि नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीमाथि छानबिन सुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले धामीलाई २४ घण्टे स्पष्टीकरण सोध्दै अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको हो ।शनिबार राति भन्सार कार्यालय भित्रै भएको भनिएको घटनाले स्थानीय तहको प्रहरी संयन्त्रप्रति प्रश्न उठेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीद्वारा पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ — 'आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई पदिय मर्यादा उलङ्घन गर्दै कुटपिट गर्नुको कारण के होरु सत्य तथ्य व्यहोरा पेस गरियोस्।'
नगर प्रहरीको टोली मोहनापुल–अत्तरिया ६ लेन सडकमा तारजालीमा क्षति पुर्याउने गाडीको खोजीमा रहेको बेला भन्सार कार्यालयसम्म पुगेको थियो। त्यही क्रममा झडप भएको बताइएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय, कैलालीले पनि छानबिन थालेको जनाएको छ। कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, प्रमुख भन्सार अधिकृत तिम्सिनाले सीसीटीभी फुटेजसहित कुटपिटसम्बन्धी उजुरी दर्ता गराएका छन्। यता निरीक्षक धामीले भने तिम्सिना स्वयं मदिराले लठ्ठिएर नगर प्रहरीमाथि दुर्व्यवहार गरेको दाबी गरेका छन् ।