काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले समाजमा शान्ति र सुरक्षाको अनुभूति गराउने प्रमुख दायित्व प्रहरीको रहेको बताएका छन् ।
आइतबार 'समाजमा शान्ति, सुरक्षा र समाधानको प्रत्याभूति नागरिकको सहभागिता बिना सम्भव छैन' भन्ने मूल सन्देशसहित काठमाडौंको लैनचौरमा सुरक्षा, जनचासो र समाधान विषयक नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
एसएसपी अधिकारीको प्रमुख आतिथ्यता र सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बहादुर रम्बा रजकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रहरी वृत्त लैनचौर, सामुदायिक सेवा केन्द्र, तथा सामुदायिक प्रहरी सेवा केन्द्र वडा नं. १६, १७ र २६ ठमेलको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा नागरिकबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै एसएसपी अधिकारीले प्रहरीलाई 'राज्यको सबैभन्दा दृश्यात्मक (भिजिवल) निकाय'को रूपमा चिनाउँदै समाजमा शान्ति र सुरक्षाको अनुभूति गराउने प्रमुख दायित्व प्रहरीको रहेको उल्लेख गरे ।
उनले कानून विपरीतका कुनै पनि गतिविधिलाई सहन नहुने र यस्ता क्रियाकलापप्रति प्रहरीले तुरुन्तै प्रतिक्रिया जनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “पीडित, पीडक वा दुर्व्यसनी — यस्ता सबै समस्या र समाधानको मूल स्रोत समाजमै रहेकोले समुदायको सहकार्य बिना दीर्घकालीन समाधान सम्भव छैन।” उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई रणनीतिक अवधारणा मानी समाज–प्रहरी सहकार्य अझ मजबुत पार्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विविध संघसंस्थाका प्रतिनिधि, आमा समूह, विद्यार्थी, तथा स्थानीय नागरिक गरी करिब २५० जनाको उपस्थिति रहेको थियो।