काठमाडौं । मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुरबाट पक्राउ गरेको छ ।
अख्तियारको टोलीले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई उपमहानगरपालिकाबाट नियन्त्रणमा लिएको हो । साथै सांसद सिंहले प्रयोग गर्दै आएको मोबाइल समेत बरामद गरी अनुसन्धान गरिरहेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहसमेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाएर खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत् झिकी आफ्नो र श्रीमतीको खातामा जम्मा गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धानका लागि कायस्थलाई नियन्त्रणमा लिएको सहायक प्रवक्ता थपलियाले बताए । उनीमाथि थप आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।