काठमाडौं । जेठ १५ गते विहिबार काठमाडौंमा सत्तारुढ दल एमाले र राजावादीहरु प्रदर्शन हुँदैछ ।
राजावादीहरुले रत्नपार्कस्थित शान्ति बाटिकामा आन्दोलनको तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएपछि भोलीको आन्दोलन हिंस्रक बन्ने त होइन भन्ने आशंका उब्जिएको छ ।
त्यसैले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।
अर्कोतर्फ भोली गणतन्त्र दिवस पनि भएकाले बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउने चटारो पनि प्रहरीलाई छ ।
अपराह्न संयुक्त सदनको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट भाषण हुँदैछ ।
यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, जिल्ला सुरक्षा समितिले आज बेलुकीसम्म तयार पार्ने सुरक्षा योजनाबमोजिम कति र कस्तो जनशक्ति कहाँ तैनाथ गर्ने भन्ने कुराको टुंगो लाग्नेछ ।
उपत्यकाको सुुरक्षाको मुख्य जिम्मेवारी पाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले प्रदर्शन नियन्त्रणको क्रममा संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका छन् ।
एआईजी तामाङले प्रदर्शनको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आए अवलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न पनि निर्देशन दिएका छन् ।