काठमाडौं । बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा आरोपमा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफ्ताव आलमलाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशहरुविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ ।
युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गरी कारवाही गर्नुपर्ने मागसहित परिषदमा निवेदन दिएका हुन् ।
उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।
यसअघि जिल्ला अदालत रौतहटले विभिन्न आधार देखाउँदै व्यक्तिहत्याको आरोपमा आलम लगायतलाई दोषी किटान गरेको थियो ।
तर जिल्ला अदालतले औंल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरु थारु र महर्जनमाथि छानविन हुनुपर्ने माग भएको हो ।
उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।
गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।
उच्च अदालतले जे जस्ता आधारहरू देखाएर आरोपितहरूलाई सफाइ दियो, ती आश्चर्यजनक देखिन्छन् । न्यायाधीशहरूले उनीहरूलाई सफाइ दिँदा तीनवटा आधार अघि सारेका छन् ।
पहिलो, बम विस्फोटको घटना भनिएपनि त्यो घटना भएको अनुसन्धानबाट पुष्टि हुन नसकेको उच्च अदालतको ठम्याइ छ ।
दोस्रो, उनीहरूले त्यो दिन मोहम्मद आफताब आलमको घरमा बम विस्फोटको पुष्टि हुन नसकेको भन्ने आधार देखाएका छन् । र मारिएका भनिएका व्यक्तिहरूलाई इँटाभट्टामा पोलिएको भन्ने ठोस प्रमाण नभेटिएको भन्ने तेस्रो आधार छ ।
फैसलापछि न्यायाधीशद्वय थारु र महर्जनको कार्यसम्पादनमाथि प्रश्न उठिरहेको छ ।
यस्तो थियो घटनाक्रम
२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ गते साझ साँढे ६ बजे रौटहटको राजपुरस्थित मोहम्मद आफताब आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो
भोलिपल्ट हुने संविधानसभा निर्वाचनमा विस्फोट गराई अरुलाई तर्साउने, आफूले बुथ कब्जा गर्न आलमको घरमा कार्यकर्ताहरूले बम बनाइरहेका थिए ।
विस्फोटबाट नारायण सिंह राजपुतको छोरा २२ वर्षको ओसी अख्तर र अन्य व्यक्ति घाइते भए । प्रतिस्पर्धी अरु दलका उम्मेद्वारहरूले आलममाथि ‘आफू विजयी हुन र अरुलाई तर्साउन बम विस्फोट गरेको’ आरोप लगाए ।
विस्फोटबाट घाइते भएकाहरूलाई उपचारका लागि लैजानुको साटो आलमले उनीहरूलाई ज्युँदै नजिकैको इँटाभट्टामा जलाएको पीडित परिवारको आरोप थियो ।
घटनापछि आलम परिवारले घाइते र मृतकहरूलाई रातो रंगको ट्याक्टरमा ओसारेर इँटाभट्टामा लगेको प्रत्यक्षदर्शीको भनाई थियो ।
घटनामा मारिएकाबारेको यथार्थ विवरण समेत सार्वजनिक हुन सकेन् । कतिपय सरकारी कागजात र अभिलेखमा ७ जना मारिएको उल्लेख छ । पीडितका आफन्तहरूले १५÷२० जना मारिएको र तीमध्ये कतिपय भारतिय भएकाले उनीहरूको यथार्थता नखुलेको बताउँछन् ।