सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन हुँदैछ ।
बिहान ११ बजेदेखि सुरु हुने अधिवेशन उद्घाटनसत्रमा पार्टीका महामन्त्री भूपदेव शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्ने कार्यक्रम छ ।
अधिवेशनबाट आउँदो पाँच वर्षका निम्ति पार्टीको प्रदेश नेतृत्व चयन गरिनेछ ।
सभापति पदका लागि हालका प्रदेश सभापति मदन खड्कासहित पाँच जना आकांक्षी प्रतिस्पर्धामा रहेका छन् ।
अन्य उम्मेदवारहरूमा दैलेखका नन्दकिशोर बस्नेत, प्रदेश कोषाध्यक्ष स्नेहा उपाध्याय, रुकुम पश्चिमका प्रेमबहादुर बोहोरा र मानबहादुर शाही रहेका छन् ।
नेतृत्व चयन सहमतिबाट गर्ने प्रयास भइरहेको छ भने सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व टुंगो लगाइनेछ ।
प्रतिनिधिहरू कर्णालीका १० वटै जिल्लाबाट वीरेन्द्रनगर पुगेका छन् ।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुने तथा निर्वाचित सदस्यमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको राष्ट्रिय महासधिवशेन हुँदैछ ।
रास्वपाको प्रथम प्रदेश अधिवेशन गण्डकी, बागमती, कोशी र लुम्बिनीमा सम्पन्न भइसकेको छ । मधेश प्रदेशमा अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ।