बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन्।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपुगेपछि पुनः निर्वाचनको सम्भावना बनेको भए पनि अन्ततः राजनीतिक सहमतिबाट नेतृत्व टुंगिएको हो ।
दाङको घोराहीस्थित सभागृहमा सम्पन्न मतदानमा कुल ५४२ मत खसेको थियो। प्रारम्भिक मत परिणाममा कसैले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि शीर्ष दुई प्रतिस्पर्धीबीच अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको थियो।
पहिलो चरणको मतगणनामा शालिकराम घिमिरेले १९९ मत ल्याउँदै अग्रता लिएका थिए भने गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए। तर दोस्रो चरणमा पुनः मतदान नगरी गोपाल घिमिरेले शालिकराम घिमिरेलाई समर्थन गरेपछि उनलाई सभापति घोषणा गरिएको हो।
शालिकराम घिमिरे रास्वपा स्थापनाकालदेखि नै पार्टीमा सक्रिय रहँदै प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति पदसम्म पुगेका नेता हुन्।
अन्य उम्मेदवारमध्ये मधुप्रसाद अर्यालले १९ मत, गणेश पौडेलले ८४ मत, समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसालले ७१ मत र डा। राजकुमार सुवेदीले ८० मत प्राप्त गरेका थिए।
अन्तिम चरणमा सहमति जुटेसँगै लुम्बिनी प्रदेश अधिवेशनले नयाँ नेतृत्व पाएको छ।