काठमाडौं । नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका ११ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले शुक्रबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकहरू सुदर्शन प्रसाद कोईराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री (जिसी), दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरूङ्ग रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।