काठमाडौँ । तीन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा अन्ततः स्थायी नियुक्ति भएको छ ।
हालै बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी प्रमुखमा पदस्थापन गरिएको छ ।
डीआईजी श्रेष्ठको नियुक्तिले २२ फागुनमा तत्कालीन प्रमुख जनक भट्टराई एआईजीमा बढुवा भएपछि रिक्त रहेको पद पूर्ति भएको हो ।
सो अवधिभर कर्णाली प्रदेश प्रहरी कार्यालय कमान्ड एसएसपी शिवकुमार श्रेष्ठको निमित्त नेतृत्वमा सञ्चालित हुँदै आएको थियो ।
यसअघि, वैशाख २१ गते गृह मन्त्रालयले सात जना डीआईजीको सरुवा गर्दा कर्णाली प्रदेशका लागि कसैलाई पनि तोकिएको थिएन।
प्रहरी वृत्तमा कर्णाली नजान चाहने प्रवृत्तिले त्यतिबेला धेरै चर्चा पाएको थियो । त्यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशमा प्रमुखहरूको हेरफेर गरिएको थियो ।