काठमाडौं । जिल्ला अदालत काठमाडौंले रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
अदालतको आदेशानुसार, धरौटी बुझाएर आजै रिहा हुने तयारीमा मिश्र लागेका छन् । यसअघि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उनलाई थुनामुक्त गरेपनि मिश्र अभियोजन दर्ता हुँदा अदालतमा उपस्थित भएका थिएनन् ।
उनी सोमबार मात्र अदालत उपस्थित भएका थिए । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेकै दिन मिश्र पक्राउ परेका थिए ।
तीनकुने घटनाका अर्का आरोपी राप्रपाका महामन्त्री धवल शम्शेर राणा पनि अदालतको आदेशानुसार सोमबार ३ लाख धरौटी बुझाएर छुटेका थिए ।
सोही घटनाका आरोपी मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।