तनहुँ । ऋषिङ गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योग अभियोगमा जिल्ला अदालत तनहुँले जेठ १३ गते पक्राउ पुर्जी जारी गरेको छ ।
तर उनी सार्वजनिक कार्यक्रमहरूमा खुलेआम हिँडिरहेका छन्, प्रहरीले भने हालसम्म पक्राउ गरेको छैन । फागुन ७ गते राति श्रेष्ठले भीमाद नगरपालिका–६ का प्रभात आलेलाई कुटपिट गरेको आरोप छ ।
प्रारम्भमा प्रहरी उजुरी लिन नमानेपछि आलेले हुलाकमार्फत उजुरी पठाएका थिए । वैशाख २५ मा बल्ल जाहेरी दर्ता भएको थियो ।
अनुसन्धान सकेर जेठ २५ मा मिसिल सरकारी वकिल कार्यालयमा पठाइएको भए पनि अभियोग दर्ता गरिएको छैन । ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि अनिवार्य पक्राउ गर्नुपर्ने भए पनि प्रहरीले आलटाल गरिरहेको छ ।
पीडित आलेले प्रहरीले राजनीतिक दबाबमा मुद्दा दबाउन खोजेको आरोप लगाएका छन् । आरोपी श्रेष्ठले आफू उच्च अदालत जाने तयारीमा रहेको बताएका छन् ।