कैलाली । कैलाली कारागारमा बेहोस् अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।
सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएको बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको हो ।
कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल पुगाइएकोमा उपचारका क्रममा सोही राति मृत्यु भएको जानकारी दिए ।
मृत्युको कारण स्पष्ट नभएपनि अस्पताल पुगाउने बेला पालीलाइ उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिना बताउँछन् ।
उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक लागेको पाइएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।
अहिले उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ । पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो । उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो ।