Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सशस्त्रमा कमिसन असुल्ने नयाँ काइदा, असार अन्तिममा बजेट निकासा गर्दै लाभ लिँदै

सशस्त्रमा कमिसन असुल्ने नयाँ काइदा, असार अन्तिममा बजेट निकासा गर्दै लाभ लिँदै

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलमा खर्च नगरी बाँकी रहेको करिब २५ करोड रुपैयाँ सञ्चित बजेट आर्थिक वर्षको अन्तिममा गण र शिक्षालयहरुमा पठाउनका लागि लेखाका एसएसपी होम ज्ञवाली र केन्द्रीय लेखाका इन्स्पेक्टर डोलराज अर्याल लागिपरेका छन् ।

आर्थिक वर्षको अन्तिम महिना असार २४ गतेबाट खाता बन्द गर्नुपर्ने सरकारको नीति छ । त्यसअघि नै गण र शिक्षालयहरुमा सामानहरु खरिद गर्नका लागि बजेट पठाउनका लागि सशस्त्रको लेखालाई भ्याइनभ्याई छ ।

गण र शिक्षालयहरुलाई आवश्यक सामान खरिद गर्नका लागि आर्थिक वर्षको अन्तिममा पठाइने बजेटको ठूलो हिस्सा बिल भौचर मिलाएर अनियमितता हुने गरेको छ । स्रोतका अनुसार असार अन्तिममा पठाउने बजेटको ठूलो हिस्सा सशस्त्र मुख्यालयमै बुझाउने सर्तमा गण र शिक्षालयका लेखापाल र इन्चार्जहरुलाई पठाउने गरिन्छ ।

कार्पेट, पर्दा जस्ता सामान खरिद गरेको देखाएर आपूर्तिकर्ताबाट बिल मात्र मागेर भुक्तानी गरी ९० प्रतिशत तलदेखि माथिसम्म भागशान्ति हुने गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार संगठनको सरुवा बढुवा, लत्ताकपडा, निर्माणको ठेक्कापट्टादेखि मिसन पठाउँदासम्म दररेट असुली गर्ने शैलेन्द्र खनालको प्रवृत्ति वर्तमान आईजीपी राजु अर्यालमा नभए पनि आर्थिक वर्षको अन्तिममा बाँकी रहेको रकम बाँडफाँटको कमिसन भने उनीसम्म नै पुग्ने गरेको छ ।

सशस्त्र प्रहरी बल ऐन पास नभए पनि अर्को आर्थिक वर्ष अघि नै २०८३ वैशाख ९ गते उनको बिदाइ हुने छ । सशस्त्रमा बजेटमा हुने यस्तो खालको बिल भौचर मिलाएर हुने आर्थिक चलखेल जनस्तरमा पुग्दैन ।

सरुवा बढुवा, खरिद र ठेक्काको अनियमितता प्रष्ट देखिन्छ । तर बजेट पठाएर मातहतका कार्यालयबाट प्राप्त हुने कमिसनमा आईजीपी अर्यालको नाम समेत जोडिने गरेको छ ।

विगतमा २० नम्बर गण सिनामंगलको भवन निर्माणमा व्यापारीसँग निर्माण सामग्री माग्ने, कामदार सशस्त्रकै लगाएर तत्कालीन गणपति एसपी पूर्ण साउदले करिब ४ करोडभन्दा बढी बिल भौचर मिलाएर खान लागेको विषयमा समाचार आएपछि रोकिएको थियो ।

लामो समय सशस्त्रको खरिदमा बसेका साउदले ठेकेदारहरुबाट सिमेन्ट, छड खरिद गर्न लगाएको तर बिल भने किनेको बनाएको बारेमा समाचार प्रकाशित भएको थियो ।

गतबर्ष पनि आर्थिक वर्ष सकिने बेलामा बजेट सक्न र बिल भौचर मिलाएर भागशान्ति गर्नका लागि साढे ३ करोडको क्यामरा विनाटेण्डर खरिद गरिएको थियो ।

सशस्त्रका बजेट चलाउने हरेक युनिटका लागि सोनी ब्रान्डको (Z-V-E10) सोनी डीएसएल क्यामरा खरिद गर्ने क्रममा डेढ करोड भन्दा बढी घोटाला भएको समाचार अनलाइन नेपालले नै सार्वजनिक गरेको थियो ।

७० हजार रुपैयाँमा पाइने भारतमा उत्पादित सोनी क्यामरा २ लाख रुपैयाँमा खरिद गरिएको थियो । सशस्त्र मुख्यालय, ३ वटा विभाग, ८ वटा बाहिनी, स्टाफ कलेज, एकेडेमी, तालिम शिक्षालय १२, गण ४४, गुल्म स्थायी ५६, प्रस्तावित ४५ गरी २७१ युनिटका लागि क्यामरा खरिद गरिएको थियो ।

उत्पादक कम्पनीको वेबसाइटमा अमेरिकामा निर्मित सोनी क्यामराको मूल्य ९२ हजार रुपैयाँ र भारतीय कम्पनीबाट उत्पादित हेर्दा सोनी क्यामराको ७० हजार रुपैयाँ उल्लेख रहेको थियो । तर सशस्त्रले भारतीय कम्पनीको सोनी क्यामरा प्रतिथान १ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरेको थियो ।

आर्थिक प्रशासन महाशाखाका प्रमुख होम ज्ञवालीले प्रतिक्यामरा सोझै १ लाख ३० हजार घोटाला गरेको आरोप लागेको थियो । अहिले पनि २५ करोड बजेट ८० प्रतिशत माथि नै बुझाउने गरी गण र शिक्षालयहरुमा पठाउन डिल गरिरहेको आरोप एसएसपी होम ज्ञवाली र इन्स्पेक्टर डोलराज अर्यालमाथि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077