काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज काठमाडौंको टोखाबाट पक्राउ गरेको हो।
अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।
उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।
१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।
अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए । काभ्रेबाट नेपाली नागरिकता समेत लिएका दावा छिरिङको माओवादीका अरु नेताहरुसँग पनि सम्पर्क देखिएको छ ।
रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।
प्रहरीका अनुसार, २०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए।