काठमाडौं । नेपाल प्रहरीमा हतियार बेच्न व्यापारी दिपक भट्टले चलखेल अघि बढाएका छन्। कांग्रेस सांसद तथा व्यापारी बिनोद चौधरीका छोरा बरुण चौधरीसँग मिलेर उनले ८५ करोड रुपैयाँ बराबरको हतियार बेच्ने तयारी गरिरहेका छन् ।
प्रहरी स्रोतका अनुसार भारतको अदानी समूहसँग मिलेर हतियार सप्लाईको चलखेल अघि बढेको छ । जिटूजी माध्यमबाट हतियार खरिद हुन लागेको हो ।
चौधरी समूहको भारतको अदानी समूहसँग निकटता छ । सोही निकटता प्रयोग गरी भट्टले हतियार ठेक्का अघि बढाएका हुन् । जिटूजी माध्यमबाट हतियार खरिद गर्दा प्रतिस्पर्धा गर्नुपर्देन ।
भट्टले आफ्नो कम्पनी इन्फिनिटी होल्डिङ मार्फत विगत २० वर्षअघिदेखि नै सुरक्षा निकायको वाटर क्यानन, हतियारलगायत सामान खरिदको ठेक्का हात पार्दै आएका छन् ।
अहिले सत्तागठबन्धन आफू अनुकुल भएको मौका पारेर जिटुजी प्रकृयामार्फत हतियार बेच्न लागेका हुन् । यसमा करोडौंको आर्थिक चलखेल रहेको स्रोत बताउँछ ।
२०७९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्ट गन (फोल्डिङ) र ९ एमएम पेस्तोल खरिद गर्न स्वीकृति दिएपनि प्रहरीले अहिलेसम्म त्यो हतियार खरिद गर्न सकेको छैन ।
त्यही आधारमा हतियार खरिदका लागि प्रहरीले दुई वर्ष अघि सुरक्षा सामरिक वा प्रतिरक्षा आपूर्ति गर्ने कार्यविधि, २०६४ र सार्वजनिक खरिद नियमावलीका प्रावधानअनुसार ९३ करोड ९९ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरेको इस्टिमेटसहित टेन्डर आह्वान गरेर करिब ८४ करोडमा हतियार खरिद गर्न लागेको थियो ।
त्यतिबेला व्यापक आलोचना भएपछि सरकार हतियार खरिदबाट पछि हटेको थियो । अहिले भने प्रहरीले कम घातक हतियारहरू, छोटो दुरीको पेस्तोल, सटगन र ग्यास सेलहरू किन्न लागेको छ ।
इन्फिनिटी होल्डिङका अध्यक्ष भट्ट तिनै व्यक्ति हुन्, जसमाथि सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागले समेत छानविन गरिरहेको छ ।
चार वर्षअघि नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाई (एफआईयू)मार्फत विभागलाई पत्र लेखेर इन्फिनिटी होल्डिङ र त्यसका अध्यक्ष भट्टमाथि गैरकानूनी सम्पत्ति आर्जनका विषयमा छानबिन गर्न पत्राचार गरेको थियो ।
जगदम्बा समूहका शंकरलाल अग्रवाल र उनका छोराहरु सुलभ तथा साहिल अग्रवालको स्वामित्वमा रहेको जगदम्बा स्टीलको बैंकिङ कारोबार शंकास्पद र गैरकानूनी देखिएपछि राष्ट्र बैंकले छानबिन गर्न विभागमा पठाएको थियो ।
२०७८ असार १३ गतेदेखि १६ गतेसम्म जगदम्बा स्टीलको नाममा रहेको बैंक खाताबाट दीपक भट्टको खातामा स्रोत नखुलेको शंकास्पद ४५ करोड रुपैयाँ आएको विषयमा सम्पत्ति सुद्दिकरणले अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणमा भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभागमा दबाब दिन लगाएर मिलाउने प्रयास गरेपनि क्लिनचिट भने पाइसकेका छैनन् ।
तिनै भट्ट यतिबेला प्रहरीमा ८५ करोडको हतियार खरिदको प्रकृया बढाउन दीपक भट्ट सक्रिय भएर लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध बनाएका भट्टले बुढानिलकण्ठलाई मिलाउनका लागि भने अर्का विचौलिया रामचन्द्र भट्टलाई खटाएको स्रोत बताउँछ ।
हतियार खरिद प्रकृयाबारे नेपाल प्रहरीका प्रवत्ता डीआईजी विनोद घिमिरेले भने अनभिज्ञता प्रकट गरे । आर्थिक वर्षको समाप्तिका बेला खरिद प्रकृया कसरी अगाडि बढाउन सकिन्छ र ? भन्दै उल्टै प्रश्न गरेका उनले अहिले कुनै पनि प्रकृया अगाडि नबढेको अनलाइन नेपालसँग बताए ।
हतियार खरिद प्रकृयाबारे प्रतिकृयाका लागि ठेकेदार दीपक भट्टसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।