रौतहट । एक करोड ४० लाख ठगी गरेको प्रमाणसहित उजुरी परेपछि प्रहरीले काठमाडौंस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गतको टोखा टोली नापी प्रमुख सञ्जय साह र रौतहटको दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साहसहित चारजनाविरुद्ध पक्राउपुर्जी जारी गरेको छ ।
रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले जिल्ला अदालत रौतहटबाट साहद्वयसहित काठमाडौं नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र छोरा धिरज श्रेष्ठविरुद्ध पक्राउ पुर्जी लिइएको ईलाका प्रहरी गरुडाले जनाएको छ । यद्यपी विमला श्रेष्ठको भने मृत्यु भइसकेको बताइएको छ ।
गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको भन्दै प्रमाणसहित उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएपछि अदालतले पक्राउपुर्जी जारी गरेको हो ।
दुर्गाभगवतीका पूर्वअध्यक्ष अरुण साहमाथि भने पीडितलाई नै ठगी गरेको आरोप छ । नापी अधिकृत साहबाट साँवा र ब्याज गरी १ करोड ४० लाख फिर्ता गराइदिने भन्दै पूर्वअध्यक्ष अरुण साहले उल्टै आफूसँग१० लाख लिएको भन्दै सन्तोषले गरुडा प्रहरीमा जाहेरी दर्ता गराएपछि पूर्वअध्यक्ष साहमाथि पनि पक्राउ पुर्जी जारी भएको हो ।
सञ्जय साह तिनै ब्यक्ति हुन्, जसमाथि २०७८ मारौतहटकै चन्द्रपुरस्थित नापी कार्यालयमा प्रमुख हुँदा अकुत सम्पति कमाएको आरोप लाग्दै आएको छ । नापी प्रमुख साह र पीडित चौधरीबीच त्यसैबेला चिनजान भएको थियो ।
त्यसपछि काठमाडौंको नागार्जुन–४ की विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन चौधरी र साहले संयुक्त लगानीमा खरिद गर्ने सहमति गरेका थिए ।
सुरुमा सन्तोषले १ करोड १० लाख बैना गरेका थिए । रजिष्ट्रेसन पास गराउन पैसा अपुग भएपछि प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याएका थिए ।
सन्तोषका अनुसार २ करोड मूल्यमा उक्त जमिन किनबेच भएको थियो । उक्त जमिन साहले आफूलाई थाहै नदिई २०८० र २०८१ मा चार कित्ता बनाई चार जनालाई बिक्री गरेपछि बाध्य भएर प्रहरीकोमा पुगेका चौधरीले बताए ।
बैना गरेको र उक्त जग्गमा माटो भरेको तथा अन्य काम गरी आफ्नो १ करोड २५ लाख खर्च भएको बताएका चौधरीले साहलाई पैसा फिर्ता माग्दा कुनै सुनवाइ नगरेपछि ठगीमा जाहेरी दिएको बताएका छन् ।
प्रहरीले जग्गाधनी बिमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि छोरा धिरजलाई पक्राउ गरी साताअघि नै हाजिर जमानीमा छाडेको छ ।
गरुडा प्रहरीका अनुसार जमिन खरिद गर्न सन्तोषले जग्गाधनी विमला र उनका छोरा धीरजलाई पटकपटक गरी १ करोड १० लाख रुपैयाँ बुझाएको देखिन्छ ।
यता, टोखा नापी प्रमुख साहलाई पक्रन गरुडा प्रहरीले काठमाडौ प्रहरी परिसरलाई पत्र पठाए साह भने कार्यालयमा असार १५ गतेसम्म बिदा जनाएर बेपत्ता भएका छन् ।